मातृभूमि स्कुलको आयोजनामा प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । औपचारिक उद्घाटन कार्यक्रम भने बुधबार सानोठिमीस्थित आयोजककै हातामा हुनेछ । बुधबारै ट्रफी पनि सर्वाजनिक गरिने आयोजक समितिका जयराम अधिकारीले मंगलबार बौद्धमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतियोगितामा ८ छात्र टिमको सहभागिता रहने छ । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने प्राविधिक प्रमुख रविन्द्र गुप्ताले जानकारी गराए । समूहमा शीर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् ।
विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई माउन्टेन बाइक, उत्कृष्ट ब्याट्सम्यानलाई ब्याट, उत्कृष्ट बलरलाई जुत्ता तथा प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई ट्रफी प्रदान गरिने छ ।
पत्रकार सम्मेलनमा मातृभूमिकी प्रिन्सिपल प्रकृति केसी पन्तले उमेरसमूहका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न अवसर दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउदै भावी खेलाडीलाई प्रेरित गर्नु पनि अर्को उद्देश्य रहेको बताइन् । प्रिन्सिपल पन्तले यो प्रतियोगितालाई निरन्तरता दिदै आगामी दिन टिम उपलब्ध भएमा छात्रा टिमलाई प्रोत्साहन गर्न छात्राको विधा पनि थप्ने प्रतिबद्धता जनाइन् ।
तीनदिने प्रतियोगिताका खेलहरु कागेश्वरी मनोहरा नगरपालिको विष्ट गाउँस्थित वान डे क्रिकेट एकेडेमीमा खेलाइने छ । पहिलो र दोश्रो दिन समान ६–६ तथा तेश्रो तथा अन्तिम दिन ३ खेल गरी प्रतियोगितामा जम्मा १५ खेल हुनेछ ।
खेलकुद


प्रतिक्रिया