देश

कांग्रेस–एमाले र रास्वपाको आन्तरिक रिपोर्ट ः कसको कति सिट ? कुन–कुन क्षेत्र कसको कब्जा ? (भिडियोसहित)


काठमाडौं— सबै दलहरु चुनावमा होमिसकेकाले अब नतिजा कस्तो आउला भन्ने आम जिज्ञासा बढेको छ । बाहिरी रुपमा, सबै दलले सबै क्षेत्रमा जितेर क्लिनस्वीप गर्ने र बहुमत ल्याउने दाबी गरे पनि उनीहरुका आन्तरिक विश्लेषण नै बाहिरी चर्चासँग मिल्दैनन् । दलहरुका आन्तरिक विश्लेषणले नै उनीहरुको अवस्था कहाँ देखाउँछ त ? अहिले सर्वाधित सहानुभूति र समर्थन पाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले व्यापक समर्थन प्राप्त गर्ने आन्तरिक विश्लेषण गरिएको छ । काठमाडौंमा केही कमजोर पर्न सकिए पनि यसपटक अन्यत्र राम्रो नतिजा आउने उसको विश्लेषण छ । देशभरबाट ४० देखि ५० लाख समानुपातिक मत आउने र ५० देखि ६० सिट प्रत्यक्षमा जित्न सकिने रास्वपाको आन्तरिक विश्वास छ । मधेशबाट धेरै फाइदा हुन सक्ने उसको विश्लेषण छ । जिल्लागत रुपमा झापा, चितवन, रुपन्देही र दाङमा क्लीन स्वीप नै गर्ने योजना छ । काठमाडौं उपत्यकाका १५ मध्ये ७ सिट जित्ने, कम महत्व दिएको सुदूरपश्चिमबाट पाँच सिट जित्ने विश्लेषण छ । पहाडी क्षेत्रमा पराजित भए पनि आफ्ना उम्मेदवार दोस्रो स्थानमा रहने र समानुपातिक मत राम्रो आउनेमा ढुक्क देखिन्छ । कांग्रेस र एमाले पार्टीको आन्तरिक असन्तुष्टि बढेका क्षेत्रमा जित्न सकिने विश्लेषण रास्वपाको छ । फलतः जित्न सकिने क्षेत्रहरुमा मात्र सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहको रोड शो भइरहेको छ ।