देश

रास्वपालाई काउन्टर दिने कांग्रेसको सभा, गगनले रवि डामे, भोट छोडेर बालेनले काम मागे (भिडियोसहित)


काठमाडौं— आफूलाई सबैभन्दा नयाँ र रूपान्तरित दाबी गर्दै व्यापक प्रचार–प्रसार गरिरहेका नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), दुवैले बुधबार चुनावी सभा आयोजना गरे । रास्वपाले सुदूरपश्चिमको राजधानी धनगढी र कांग्रेसले मधेशको राजधानी जनकपुरधाममा आयोजना गरेका सभामा हजारौँ समर्थकहरूको उपस्थिति थियो । जहाँ कांग्रेसले आफ्ना भावी प्रधानमन्त्रीका उम्मेदवार तथा पार्टी सभापति गगनकुमार थापाको प्रमुख आतिथ्यमा ‘प्रतिज्ञा सभा’ ग¥यो । आगामी निर्वाचनका लागि काठमाडौंको आफ्नो सुरक्षित गढ छाडेर मधेश झरेका थापा र मधेशकै मतले देशको नेतृत्व गर्ने बताएको कांग्रेसले मधेशकै राजधानी जनकपुरबाट आगामी निर्वाचनको ‘प्रतिज्ञापत्र’ समेत सार्वजनिक गरेको छ ।
यस्तै, जनकपुरधाममा पहिलो चुनावी सभा गरिसकेको रास्वपाले सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहको उपस्थितिमा सुदूरपश्चिमको राजधानी धनगढीमा ‘परिवर्तन उद्घोष सभा’ ग¥यो । जहाँ झापा–५ का मतदाताहरूसँगको ‘पब्लिक डिबेट’लाई अस्वीकार गरेका वरिष्ठ नेता साहले धनगढी पुगेर उद्घोष सभालाई सम्बोधन गरे ।