राजनीति

सबुज बानियाँ : अनुभव, इमानदारी र भिजनको जगमा जितको खोजी


काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–६ मा कांग्रेसबाट सबुज बानियाँ उम्मेदवार छन् । गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेस फेर्ने विशेष महाधिवेशन भृकुटीमण्डपमा आयोजना गर्दा बानिँया नै सभापति बन्ने ऐतिहासिक मौका पाए । अहिले टिकट लिएर जनतामा परीक्षण हुन आएका छन् ।

को हुन् बानियाँ ?
गाविस अध्यक्ष भएपछि काठमाडौं–६ बाटै सांसद बन्ने अठोटका साथ राजनीतिक अभियानमा सक्रिय थिए सबुज बानियाँ । करिब तीन दशकपछि उनले यही क्षेत्रबाट टिकट पाएर अब सांसद बन्ने सपना पूरा गर्न लागिपरेका छन् । जलुपा मनोहर, दीपज्योति र विष्णुमती क्षेत्रका परिचित, अनुभवी तथा जनउत्तरदायी नेता बानियाँ एक अनुभवी र कर्मठ उम्मेदवार हुन् ।

शिक्षा, संगठन र पूर्वाधार विकासलाई सधैं प्राथमिकतामा राख्दै उनले स्थानीय तहदेखि जिल्लास्तरसम्म प्रभावकारी नेतृत्व प्रदान गर्दै आएका छन् । अब त्यो भूमिकालाई थप विस्तार गर्न चाहिरहेका छन् ।

वि.सं. २०५४ सालमा गा.वि.स अध्यक्ष निर्वाचित भई उनले स्थानीय शासन, विकास योजना र जनसेवामा उल्लेखनीय योगदान दिए । जनतासँग नजिक रहेर काम गर्ने यही अनुभवले उालाई स्थानीय समस्या बुझ्ने, समाधान खोज्ने र कार्यान्वयन गर्ने सक्षम नेताका रूपमा स्थापित गर्‍यो । त्यही विश्वास र समर्थन संगाल्दै पार्टीको काठमाडौं जिल्ला सभापति पदमा दुई पटक (वि.सं. २०७२–८१) निर्वाचित भई सफल कार्यकाल सम्पन्न गरे ।

यस अवधिमा संगठन सुदृढीकरण, कार्यकर्ता एकता र जिल्लाको समग्र विकासका मुद्दालाई अगाडि बढाउन उनले निर्णायक भूमिका खेले । यो समयमा उनले आफ्नो क्षेत्रमा सडक, ढल, खानेपानी, शिक्षा, सामुदायिक भवन लगायत हरेक खालका पूर्वाधार विकासका कामहरूमा कुनै कसर बाँकी नराखी योगदान पुर्‍याए ।

योजनाबद्ध विकास, पारदर्शिता र जनसहभागितालाई प्राथमिकतामा राख्नु उनको कार्यशैलीको विशेषता हो । यति मात्र होइन शिक्षा क्षेत्रप्रतिको गहिरो प्रतिबद्धताका साथ उनले जलुपा मनोहर, दीपज्योति, विष्णुमतीका चारवटै विद्यालयको व्यवस्थापन समितिमा बसेर विद्यालय सुधार, व्यवस्थापन सुदृढीकरण र शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरे ।

शिक्षामा गरिएको लगानीलाई उनी दीर्घकालीन विकासको आधार मान्छन् । बिगतमा गरेको काम, वर्तमानको सक्रियता र भविष्यप्रतिको स्पष्ट दृष्टीकोणसहित उनी समृद्ध, व्यवस्थित र आत्मनिर्भर क्षेत्र निर्माणको यात्रामा दृढताका साथ अघि बढिरहेका छन् ।

परिवर्तनको साहसिक यात्रामा बानियाँ
जेनजी पुस्ताले परिवर्तनका लागि विद्रोहको बाटो राजेजस्तै उनले पनि पार्टीभित्र समयअनुसार परिवर्तनको जोडदार आवाज उठाए र त्यसका लागि महत्वपूर्ण भूमिका पनि खेले । विद्रोहलाई नकारात्मक नभई सुधार र रूपान्तरणको माध्यमका रूपमा बुझ्ने उनी सधैं परिवर्तन र विकासमा विश्वास राख्ने नेताका रूपमा परिचित छन् । यही विश्वासका साथ बानियाँ काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेर जनताको सेवामा थप विस्तारित कदम चाल्न खोजिरहेका छन् ।

पार्टीमा अहिलेसम्म पुर्‍याएको योगदान र आफ्नो क्षेत्रको विकासलाई सँगै अघि बढाउने यात्रामा उनले करिब ४० वर्ष राजनीति मार्फत निरन्तर संघर्ष गरे । अनुभव, धैर्यता र समर्पणले भरिएको उनको राजनीतिक जीवन सधैं जनताको पक्षमा केन्द्रित रहँदै आएको छ ।

आफ्नो क्षेत्रमा कुनै पनि विकासका पूर्वाधारको कमी नहोस् भन्ने उद्देश्यका साथ सबुज बनियाँले इमान्दार मेहनत र कर्मलाई आफ्नो मूल मन्त्र बनाउँदै आएका छन् ।सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगार लगायतका आधारभूत आवश्यकता जनताले सजिलै पाउन सकुन् भन्ने उनको निरन्तर प्रयास देखिन्छ ।

बानियाँ भन्छन्, ‘अब जिम्मेवार स्थानमा पुगेपछि आफ्नो क्षेत्रका मानिसहरूको जीवनशैली कसरी उन्नत र सहज बनाउन सकिन्छ । त्यसैले अझ खुलेर, पारदर्शी रूपमा र मेहनतका साथ काम गर्ने दृढ संकल्पमा छु ।’ विकास केवल संरचनामा होइन, जनजीवनमा देखिनुपर्छ भन्ने विश्वासका साथ बनियाँ क्षेत्र नम्बर ६ को उज्ज्वल भविष्य निर्माणका लागि अमूल्य मत मागिरहेका छन् ।