देश

बाबुको विरासत जोगाउन सात मैदानमा, प्रचण्डदेखि चन्दसम्मको प्रतिष्ठा, कस्तो छ प्रतिस्पर्धा ? (भिडियोसहित)


काठमाडौं— फागुन २१ को चुनावी मैदानमा होमिएका नयाँ अनुहारका युवा उम्मेदवारहरू अहिले सर्वाधिक चर्चामा छन् । चाहे ती नयाँ राजनीतिक दलका हुन् वा परम्परागत दल र स्वतन्त्र नै; आम मतदाताहरूको आकर्षण बनिरहेका छन् । यिनै नयाँ अनुहारहरूमा केही यस्ता उम्मेदवारहरू पनि छन्, जो आफ्नो परिवारको राजनीतिक विरासत जोगाउन चुनावी मैदानमा होमिएका हुन् । देशभर नयाँ र युवा उम्मेदवारहरूको लहर चलिरहेका बेला, उनीहरू बुबाले बसालेको राजनीतिक जगमा उभिएर आफ्नो आगामी यात्रा तय गर्ने दौडमा छन् । पूर्वप्रधानमन्त्रीदेखि पार्टीको माथिल्लो तहसम्म रहेर महत्त्वपूर्ण योगदान गरेका र आफ्नो क्षेत्रमा राम्रो प्रभाव जमाउन सफल नेताहरूका छोरा–छोरी तथा पारिवारिक सदस्यहरू नै मैदानमा छन् । जसले कतै परम्परागत राजनीतिक पुस्तान्तरणको नाममा ‘परिवारवाद’लाई प्रश्रय दिएको चर्चा भइरहेको छ, त कतै दलका नेताहरूको विरासतलाई मतमा परिणत गर्ने रणनीतिका रूपमा व्याख्या गरिँदैछ ।