देश

गगन–बालेनको अचम्मको भित्री मिलन, झापा–५ र सर्लाही–४ को कनेक्सन, ओली र अमरेश हराउन तालमेल (भिडियोसहित)


काठमाडौं— आसन्न फागुन २१ को निर्वाचनको सर्वाधिक लाइमलाइटमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह दोस्रो पटक मधेश केन्द्रित चुनावी अभियानमा होमिएका छन् । काठमाडौँको मेयरबाट राजीनामा दिएर जनकपुरबाट आफ्नो राजनीतिक यात्रा थालेका तथा आफ्नो माहोल देखाएर पुराना दल तर्साएका उनी पूर्वदेखि सुदूरपश्चिमसम्मको यात्रा सकाएर फेरि मधेश झरेका हुन् । मङ्गलबार सप्तरीको सप्तकोशी नगरपालिकाबाट मधेश केन्द्रित चुनावी अभियानको शङ्खघोष गरेका उनी जहाँ पुग्छन्, सोचेभन्दा बलियो प्रभाव पार्न सफलसमेत भइरहेका छन् । अर्थात्, मधेशको छोरा अब देशकै प्रधानमन्त्री हुने चर्चालाई सिङ्गो मधेशले खुसीका साथ स्वीकार्दा यो लहर कुनै समय उपेन्द्र यादव र सीके राउतमा देखिएको क्रेजभन्दा बलियो बनिरहेको छ । फलतः डा. अमरेशकुमार सिंहजस्ता व्यक्ति यसलाई आफ्नो जितका लागि प्रयोग गर्ने खेलमा लाग्दा बालेन भने त्यसलाई खासै महत्त्व दिइरहेका छैनन् । अर्थात्, उनको यो रणनीति कांग्रेस सभापति गगन थापालाई सहयोगी हुने अवस्थाकै देखिँदा उनले गरेको ब्रान्डिङ रास्वपाभन्दा आफू केन्द्रित छ । यही कारण रास्वपाका जिल्ला संरचनामाथि समेत बालेनको सचिवालय नै भारी परिरहेको छ ।