देश

जहाँ बालेन त्यहाँ भिड, माला फाल्नुको कारण खुल्यो, झापा–५ मा जित्ने देखेपछि फेरि देश दौडाहामा (भिडियोसहित)


काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र साह सुदुरपश्चिमको चुनावी दौडाहालाई बिट मार्दै पूर्वी नेपाल हानिएका छन् । पार्टी सभापति रवि लामिछाने स्वास्थ्य अवस्थाका कारण आफ्नै निर्वाचन क्षेत्रमा समेत जान नसकेका बेला साह भने पूर्व–पश्चिम गरेर आफ्ना उम्मेदवारका पक्षमा माहोल बनाइरहेका छन् । सुदूरपश्चिमका अधिकांश जिल्ला हुँदै कर्णालीको कालिकोटसम्म पुगेर फर्किएका साह सोमबार साँझ आफ्नै निर्वाचन क्षेत्र झापा–५ पुगे । सुदूरपश्चिम हुँदै कर्णाली पुगे पनि कतै सम्बोधन नगरी फर्किएका साहले मंगलबार भने झापाका विभिन्न बस्तीमा पुगेर मतदातासँग भलाकुसारी गरेका दृश्यहरू देखिए । जहाँ उनले सोही क्षेत्रमा पर्ने कमल गाउँपालिकाको सुकुम्बासी बस्ती पुगेर काठमाडौँको खोला किनारका जोखिमपूर्ण बस्ती र झापाका पुराना बस्तीहरूको प्रकृति फरक रहेको भन्दै वास्तविक सुकुम्बासीलाई अन्याय नहुने र लालपुर्जा पाउने व्यवस्था मिलाउने आश्वासन समेत दिए ।