देश

कांग्रेसको नयाँ टिम गुमनाम, गगन एक्लैको दौडाहा, शीर्ष नेताको मौनताले उम्मेदवारलाई हार्ने पिरलो (भिडियोसहित)


काठमाडौं— नेपाली कांग्रेसले १६५ जना उम्मेदवारमध्ये १०६ जना नयाँ अनुहार चुनावी मैदानमा उतारेको छ । पार्टी नेतृत्वले ठूलो पुस्तान्तरणको प्रयास गर्दा कांग्रेसका प्रभावशाली र पुराना नेताहरू भने चुनावी मैदानबाट बाहिरिएका छन् । उनीहरूले टिकट नपाउँदा गृह जिल्लासमेत गएका छैनन् । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा, निवर्तमान उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, धनराज गुरुङ, विशेष महाधिवेशनबाट उपसभापति बनेका विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, निवर्तमान सहमहामन्त्री बद्री पाण्डे, नेताहरू शशांक कोइराला, बालकृष्ण खाँण लगायतका शीर्ष नेताहरू यो पटक चुनावी मैदानमा छैनन् । न त उनीहरू आफ्नो निर्वाचन क्षेत्रमा नै गएका छन् । विशेष महाधिवेशनपछि नेपाली कांग्रेसमा स्पष्ट दुई धार देखिएको छ । एक पक्ष गगन थापालाई सभापति मानेर ‘सुधारिएको कांग्रेस’ भन्दै निर्वाचनमा छ भने अर्को पक्ष विशेष महाधिवेशन स्वीकार नगर्ने, तर गगन थापाको हस्ताक्षर भएको टिकट लिएर निर्वाचनमा होमिए पनि पार्टी विवादबारे अदालतको आदेशको पर्खाइमा छ । यता, सभापति गगन थापा भने निवर्तमान सभापति देउवासँग आफू निरन्तर सम्पर्कमा रहेको र पार्टीमा कुनै गुट नरहेको दाबी गर्छन् ।