देश

कैलाली ः पाँच सिटको भिडन्त, रेशम रिङ आउट, लेखराजलाई आफ्नै भाई चुनौती, केपीको के होला ? आलेको दाउ (भिडियोसहित)


काठमाडौं— सुदूरपश्चिमका १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये कैलालीमा सबैभन्दा धेरै पाँच वटा निर्वाचन क्षेत्र छन् । एकमात्र धनगढी उपमहानगरपालिका रहेको यस क्षेत्रमा सुदूरपश्चिमको अस्थायी राजधानी पनि छ । पाँच लाख ५१ हजार ५२ मतदाता रहेको कैलालीमा क्षेत्र नं एक, चार र पाँचमा धेरैको चासो छ । कैलाली–१ थरुहट–थारुवान आन्दोलनको आधार इलाका । साथै रेशम चौधरीको प्रभाव क्षेत्र पनि । न अहिले रेशम चौधरी प्रतिस्पर्धामा छन्, न उनले जन्माएको नागरिक उन्मुक्ति पार्टी नै एकढिक्का छ । जब कि यही पार्टीको बल थियो चौधरीले टीकापुर हत्याकाण्डमा आममाफी पाउनुमा । तर, अहिले पार्टी टुटफुट नै चुनौती बनेको छ । रेशमले चुनाव लड्न नपाउँदा नाउपाबाट छुट्टिएर रञ्जिता श्रेष्ठ नेकपामा समाहित हुँदा सो पार्टीबाट रामलाल डगौँरा उम्मेवार छन् । उनी टीकापुर नगरपालिकाको मेयरबाट राजीनामा दिएर मैदानमा होमिएका हुन् । गतवर्ष रञ्जिताले नै चुनाव जितेकी थिइन् । कुनै बेला नाउपामै रहेका चार नेता अहिले एकअर्कासँग भिड्दैछन् । प्रदीपकुमार चौधरी उज्यालो नेपाल पार्टी, कोमल ज्ञवाली रास्वपा र विमलकुमार डगौँरा श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेका छन् । कांग्रेसबाट जनकराज चौधरी, नेकपा एमालेबाट द्वारिकाप्रसाद न्यौपानेसहित १८ जना उम्मेदवार चुनावी मैदानमा छन् । यहाँको रोचक पक्ष के छ भने अहिलेसम्म कसैले पनि दोहोरिएर चुनाव जितेका छैनन् । मुख्य रुपमा नेकपा, नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ । चुनाव लड्न नपाए पनि रेशमको समर्थन चुनाव जित्न निर्णायक बन्न सक्छ ।