देश

कांग्रेसको सय सिट, गगन–विश्वको नयाँ खाका, मधेशमा विरासत फर्काउने, हिन्दू धर्मको भोट तान्ने (भिडियोसहित)


काठमाडौं— नेपाली कांग्रेस, सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माका एजेन्डासहित विरासत फर्काउने रणनीति लिएर चुनावमा होमिँदैछ । विशेष महाधिवेशनपछि गठित नयाँ केन्द्रीय कार्यसमितिमाथि ठूलो राजनीतिक दबाब छ । शेरबहादुर देउवा सभापति हुँदा कांग्रेसले प्राप्त गरेको ८९ सिटलाई यथावत् राख्ने मात्र होइन, त्यसलाई वृद्धि गर्नुपर्ने चुनौती नयाँ नेतृत्वसामु छ । पार्टी प्रवक्ता देवराज चालिसेले यसपटक कांग्रेसले प्रत्यक्षतर्फ करिब १०० सिट जित्ने र समानुपातिकतर्फ करिब ३५ लाख मत प्राप्त गर्ने दाबी गरेका छन् । उनका अनुसार पार्टीले जनताको भरोसा पुनः जित्न घोषणापत्रलाई व्यवहारिक र परिणाममुखी बनाउने तयारी समेत गरिरहेको छ । यसपटकको निर्वाचन गगन–विश्वका लागि नेतृत्व परीक्षणसँगै संगठनात्मक क्षमताको पनि परीक्षा हुनेछ । गगन–विश्वप्रकाश नेतृत्वको नयाँ टिमले कति प्रभावकारी रूपमा मतदाता आकर्षित गर्न सक्छ भन्ने कुराले नै कांग्रेसमा युवा नेतृत्वको भविष्यलाई समेत निर्धारण गर्नेछ । पार्टीको चुनावी कमान्ड सम्हालेका विश्वप्रकाश शर्मा नेतृत्वको समितिले पार्टीको रणनीति तयार गरिरहेको छ ।