काठमाडौं— पूर्वमा बालेन, पश्चिममा बालेन, सञ्जालमा बालेन, समुदायमा बालेन; दायाँ बालेन, बायाँ बालेन– चारैतिर बालेन । बालेनको चर्चाले सबैभन्दा बढी टाउको कसैको दुखेको छ भने ती हुन्– एमाले अध्यक्ष केपी शर्मा ओली । ओली र बालेनको भिडन्त झापा–५ को चुनावी मैदानमा मात्रै होइन, सामाजिक सञ्जालका भित्तामा पनि चलिरहेको छ । ओली, बालेनलाई रोक्ने दाउमा छन् भने बालेन ओलीलाई ‘इलाका तेरा, धमाका मेरा’ भनेर झापा–५ मै हराउने तयारीमा लागेका छन् । आफू पूर्व–पश्चिम यात्रामा हुँदा समेत आफ्नो निर्वाचन क्षेत्रमा श्रीमती पठाएर बालेनले दबाब बढाइरहेका छन् । ओलीका लागि अहिले बालेन मात्रै होइनन् । कांग्रेसका सभापति शेरबहादुर देउवा हुँदा ओलीका लागि दाहिना थिए, तर विद्रोह गरेर कांग्रेस सभापति बनेका गगन थापा पनि ओलीमाथि नै भारी परिरहेका छन् । प्रजातान्त्रिक शक्तिका दुई युवा सञ्जालदेखि समुदायसम्म चर्चामा छन् । जसका कारण दुई कम्युनिस्ट पार्टी एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)माथि संकटको कालो बादल मडारिरहेको छ । बालेन देश दौडाहामा लाग्दा गगन मधेश झरेका छन् । यी दुई युवाको उभार रोक्न प्रचण्ड र ओलीलाई हम्मे–हम्मे परेको छ । बालेन रोक्न ‘पब्लिक डिबेट’ का लागि समेत तयार भएका ओलीलाई बालेनले कमेन्टमै जवाफ फर्काउँदै अस्वीकार गरिदिए । रास्वपा र कांग्रेस दुई प्रजातान्त्रिक शक्ति दुई धारमा उभिएर बहार ल्याउँदा बालेन र गगनलाई कसरी रोक्ने भन्ने अस्त्र ओली र एमालेले अझै भेटाएको छैन ।
देश


प्रतिक्रिया