देश

कांग्रेसका चर्चितहरु चुनाव नलड्ने, शेखर र देउवाकै बहिष्कार, गगनको एकलौटी, धेरै नेता घर न घाटको (भिडियोसहित)


काठमाडौं— अग्रज नेताहरूविरुद्ध विद्रोह गर्दै नेपाली कांग्रेसको नेतृत्वमा पुगेका गगन थापा सभापति बनेपछि तल्लो तहका कार्यकर्तामा उत्साह त देखिएको छ, तर पार्टीको शीर्ष नेतृत्व भने गगनको यो कदमप्रति अझै रुष्ट छन् । संस्थापन पक्षले आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने तयारी गरिरहेका बेला सभापति बन्ने तीव्र चाहनाका कारण गगनले विशेष महाधिवेशनमार्फत पार्टीलाई नै दुई टुक्रा हुने अवस्थामा पु¥याएको आरोप लागिरहेको छ । आफू सभापति बन्न पार्टीलाई दुई चिरा पारेका गगनले नै यस पटक निर्वाचनका लागि उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने जिम्मेवारी पाएका छन् । विशेष महाधिवेशन पक्षधरहरू यसबाट उत्साहित भए पनि कांग्रेसको स्थापित शीर्ष नेतृत्व पङ्क्ति भने असन्तुष्ट छ । त्यसैले, गगनको हस्ताक्षर भएको टिकट लिएर चुनाव लड्नुपर्ने परिस्थिति बनेपछि कांग्रेसका प्रभावशाली नेताहरूले यस पटक निर्वाचनमा भाग नलिने निर्णय गरेका हुन् ।