देश

ओलीको टिकट वितरणः एमालेमा भाँडभैलो, महेश र थेबेलाई च्यापे, पुरानालाई बिचल्ली पारे (भिडियोसहित)


काठमाडौं— एकातर्फ प्रधानमन्त्रीको बलियो उम्मेदवारका रुपमा प्रकट भएका छन्– बालेन शाह । अर्काेतर्फ पाँचौंपटक प्रधानमन्त्री हुनेगरि एमालेको आधिकारिक उम्मेदवार बनेका छन्– केपी शर्मा ओली । आसन्न निर्वाचनमा यी दुईबीच एउटै निर्वाचन क्षेत्रमा रोचक भिडन्त हुँदैछ । जुन यस्तो बन्दैछ– यो निर्वाचन जित हारमात्रै नभएर, जेनजी विरोधी र समर्थनको जनमत संग्रह पनि हो ।
नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई नै पार्टीबाट आगामी प्रधानमन्त्रीको रूपमा उम्मेदवार बनाएर प्रतिनिधि सभा निर्वाचनमा जाने निर्णय गरेको छ । १६५ निर्वाचन क्षेत्रमध्ये १४१ क्षेत्रमा उम्मेदवार चयन गरिसक्दा बाँकीका २४ क्षेत्रमा अध्यक्षलाई नै टुंग्याउने जिम्मासहित होल्ड गरिएको छ । सार्वजनिक गरिएका उम्मेदवारहरूमध्ये ८५ जना नयाँ अनुहारहरु छन् । यो सूचीमा गोरखा–२ मा विवादित मिलन गुरूङ चक्रे देखि इलाम–२ बाट हालसम्मका सर्वस्वीकार्य नेता सुहाङ नेम्वाङसमेत अटाएका छन् । टिकट वितरणदेखि होल्ड गरिएका र निर्वाचन क्षेत्र समेत परिवर्तन गरिनेहरुमा चर्चित अनुहारहरु नै प्राथामितकामा परेका छन् । जसलाई एमालेको चुनावी रणनीतिका रूपमा व्याख्या गरिएको छ ।