देश

ओली बोक्दा देउवाले सर्वस्व गुमाए, गगनले कांग्रेसबाट निकाले, बुढेसकालमा सडक र सर्वोच्च गुहार्दै (भिडियोसहित)


काठमाडौं— नेपाली कांग्रेसको संस्कार भनौँ वा संयोग, पार्टीका शीर्षस्थ नेताहरूको राजनीतिक उत्तरार्धको यात्रा खासै सुखद हुने गरेको छैन । संस्थापक नेताहरूदेखि पछि पार्टीमा लागेका अन्य नेताहरू—जसले आफ्नो युवावस्थाको सम्पूर्ण शक्ति, जोस र पारिवारिक सुखसमेत पार्टी निर्माणमा समर्पित गरे, उनीहरूको राजनीतिक यात्राको अन्त्य भने अपमान र दुःखका साथ हुने गरेको देखिन्छ । संस्थापक नेता गणेशमान सिंहदेखि कृष्णप्रसाद भट्टराईसम्मले अन्तिम समयमा पार्टी नै त्याग्नु प¥यो भने वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले पनि गत महाधिवेशनमा पार्टीले आफूलाई सधैँ अन्याय गरेको भन्दै आँसु झार्न बाध्य भएका थिए । अहिले देउवाको अवस्था पनि लगभग त्यस्तै बनेको छ । विगतमा तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले अनुशासनको कारबाही गरेर पार्टीबाट बहिर्गमनको बाटो देखाइदिएका देउवालाई राजा ज्ञानेन्द्र शाहले पनि ‘असक्षम’ भन्दै प्रधानमन्त्रीबाटै बर्खास्त गरिदिएका थिए । अहिले अभिभावक मानेर हिँडेका गगन थापाले समेत देउवालाई सभापतिको कुर्सीबाट गलहत्याइदिएका छन् । देउवालाई पूर्वसभापतिको हैसियतमा राखेका गगनले सभापतिको कुर्सी कब्जा गर्दै देउवालाई संरक्षक बनेर बस्न आग्रह गरेका छन् ।