काठमाडौं— पार्टी खोल्ने र सत्ताको बागडोर सम्हाल्न तम्सिने होडबाजीका बीच आफ्नै संरक्षकत्वमा ‘उज्यालो नेपाल पार्टी’ खोलेका कुलमान घिसिङको क्रेज जति ‘रिल’ मा देखिन्छ, ‘रियल’ मा भने कमजोर देखिएको छ । सामाजिक सञ्जालमा जति वाहवाही र समर्थन पाए पनि भौतिक रूपमा समर्थकहरूको उपस्थिति कम देखिँदै आएको छ । पार्टी घोषणा कार्यक्रममा केही सयको भीड देखिए पनि त्यो घिसिङले अपेक्षा गरेजति हुँदै होइन । त्यसमा पनि मन्त्रीका हैसियतले सरकारी कामको निरीक्षण भन्दै जनताको नाडी छाम्ने दौडाहामा निस्किएका उनलाई जनताले खासै प्राथमिकतामा राखेको देखिँदैन । यस्तै दृश्य बिहीबार त्रिपुरेश्वरस्थित पार्टीको केन्द्रीय कार्यालय उद्घाटन समारोहमा देखियो । रास्वपाले कार्यालयअगाडि घण्टी झुन्ड्याएजस्तै उज्यालो नेपालले पनि आफ्नो आगनमा बलिरहेको चिम (बल्ब) सजाएर राखेको थियो । तर, पार्टीको औपचारिक प्रशासनिक भवनको उद्घाटनमा समेत नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति भने निकै कम देखियो । यही बीचमा प्रमुख अतिथिका रूपमा उपस्थित भएका मन्त्री कुलमान घिसिङले हरियो रिबन काटेर पार्टी केन्द्रीय कार्यालयको उद्घाटन गरे ।
देश


प्रतिक्रिया