काठमाडौं— एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । मतदानको लागि भृकुटीमण्डपमा ८० वटा मेसिन राखिएको छ । विद्युतीय मेसिनबाट हुने मतदानमा कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् । भावी नेतृत्वका लागि केपी ओली र ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा छन् । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी महाधिवेशनले निर्वाचित गर्दै छ ।
मतदानका लागि प्रतिनिधिहरू लाइन लागिसकेको अवस्थामा विद्युतीय मेसिनमा प्राविधिक समस्या आएको भन्दै मंगलबार राति निर्वाचन प्रक्रिया स्थगन गरिएको थियो । मतदाता नामावली प्रकाशन र उम्मेदवारी दर्ता सोमबार नै सकिएकाले मंगलबार दिउँसो मतदान सुरु गर्ने तालिका सार्वजनिक गरिएको थियो ।
तर विद्युतीय मेसिनमा उम्मेदवारको नाम चढाउन ढिला भएपछि राति ८ बजे मतदान सुरु गर्ने भनिएको थियो । मतदानका लागि अध्यक्षका उम्मेदवारद्वय केपी ओली र ईश्वर पोखरेलसमेत लाइनमा थिए । तर सवा ८ बजेतिर निवर्तमान महासचिव शंकर पोखरेलले मतदान स्थगन भएको जानकारी दिएका थिए ।


प्रतिक्रिया