देश

रोचक बन्यो महासचिव भिडन्त, शंकर च्यापेर प्रदीपलाई ओलीको अन्याय, विद्रोहले सुरेन्द्रलाई महासचिव बनाउँला ? (भिडियोसहित)


काठमाडौं— आकांक्षी व्यवस्थापनकै लागि विधानमा ‘कु’ गरेर अघि बढेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गुट छिन्नभिन्न देखिएको छ । महासचिवमा देखिएको महाभिडन्त यसको मुख्य कारण बन्दा संस्थापन पक्षको प्यानलमा नपरेका नेताहरूले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । हुन पनि, ओलीसँग निकट भएर लामो सहयात्रा गरेका प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ अहिले महासचिवका आकांक्षी थिए । ज्ञवालीको सन्दर्भमा त ओलीले महाधिवेशन उद्घाटन सत्रको उद्घोषक नै बनाए । पार्टीमा अध्यक्षले अध्यक्षता गर्ने, महासचिवले उद्घोषण गर्ने र उपाध्यक्ष अथवा वरिष्ठ उपाध्यक्षले स्वागत मन्तव्य राख्ने कम्युनिस्ट प्रचलनका बीच यसलाई धेरैले अनौठो मानेर हेरेका थिए । अर्थात्, उपमहासचिव नै उद्घोषक भएपछि धेरैले ओली टिमबाट अबको महासचिव ज्ञवाली हुने आकलन गरेका थिए । तर, ओलीले शंकर पोखरेललाई नै काखी च्याप्दै ज्ञवालीलाई उपाध्यक्षमा समेट्ने गरी अघि बढेका थिए । जसबाट असन्तुष्ट ज्ञवाली अहिले केन्द्रीय सदस्य मात्र हुने भन्दै अघि बढेका छन् । उपाध्यक्ष बन्नमा अनिच्छा देखाएका ज्ञवालीले ओलीको सूचीलाई अस्वीकार गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । भृकुटीमण्डपस्थित बन्दसत्र हालबाट बाहिरिएका ज्ञवाली पछि पुनः मनोनयनका लागि पुगेका थिए । उनी त्यहीँबाट चित्त दुखाएर रुँदै फर्किएका थिए । उनी निकट स्रोतले केन्द्रीय कमिटी सदस्यमा मनोनयन दर्ता गराएको बताएको छ । ज्ञवालीले आफू निकटस्थहरुसँग एउटै व्यक्तिलाई दोहो¥याइराख्ने प्रवृत्ति उचित नभएको भन्दै असन्तुष्टि पोखेका छन् ।