काठमाडौं— निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मङ्सिर २८ गते अर्थात् आइतबार विभिन्न कार्यक्रमका साथ १९औँ संघीय संसद् सेवा दिवस मनाइएको छ । वि.सं. २०५८ मा निजामती सेवाबाट संसद् सेवा गठन भएको थियो । नेपालको संविधानको धारा २०७ मा संघीय संसद्को कामकारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना तथा त्यससम्बन्धी अन्य व्यवस्था संघीय कानुनबमोजिम हुने व्यवस्था छ । निजामती सेवा ऐनबाट निकालेर छुट्टै ऐनद्वारा सञ्चालित संसद् सेवा विशिष्ट, स्वायत्त र व्यावसायिक सेवा हो । संसदीय अभ्यासलाई थप प्रभावकारी, मर्यादित र व्यावसायिक बनाउन छुट्टै ऐनद्वारा संसद् सेवाको गठन गरिएको स्मरणमा यो दिवस मनाउने गरिएको हो । तर, गत भदौ २३ र २४ को आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा बनेको सरकारले संसद् विघटन गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरी आउँदो फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरेका थिए । प्रतिनिधि सभा विघटनलाई सबै राजनीतिक दलले असंवैधानिक भन्दै आएका छन् । एमाले निरन्तर संसद् ब्युँताउन लागिपरेको छ भने एमालेपछि कांग्रेस पनि संसद् पुनःस्थापनको मुद्दा लिएर सर्वोच्च अदालत पुगेको छ । अहिले संसद् विघटनविरुद्ध १८ वटा रिट सर्वोच्च अदालतमा विचाराधीन छन् । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन अस्वीकार्य भएको भन्दै फागुन २१ को निर्वाचनअघि जुनसुकै हालतमा संसद् ब्युँताउन दबाब दिइरहेका छन् । एमालेको ११औँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा ओलीले डर, दबाब र प्रतिशोधको वातावरणमा गरिने चुनावले लोकतन्त्रलाई कमजोर बनाउने भन्दै संविधानलाई ‘लिकमा फर्काउने’ एकमात्र बाटो संसद् पुनःस्थापना भएको स्पष्ट पारे । आइतबार संघीय संसद् सेवा दिवस–२०८२ को अवसरमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले संसद्लाई सरकारले बन्देज लगाएको र कर्मचारीहरूको सेवा, सुविधा र दरबन्दी घटाउने काम गरेकोमा असन्तुष्टि व्यक्त पोखे । जनउत्तरदायी, सक्षम र मर्यादित संसदीय अभ्यासलाई पुनर्जीवित गर्नुपर्नेमा सभामुखको जोड छ ।
देश


प्रतिक्रिया