देश

जित निकाल्दै ओली, पेलिए ईश्वर, शंकरलाई प्रदीपको काउन्टर, योगेश तल झरे, शाक्य र ज्ञवालीको सन्यास (भिडियोसहित)


काठमाडौं— एक महिनाअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए– ‘म बोल्छु अनि महाधिवेशन सकिन्छ ।’ ईश्वर पक्षले आफ्नो फरक प्रस्ताव दर्ता गर्न खोज्दा नेतृत्व चयनबाहेक अरु केही हुन नसक्ने भनियो । तर, ओली आफू दबाबमा परेपछि भदौमा मात्र संशोधन गरेको विधानमा फेरि छेडखानी गरेका छन् । आफ्ना लागि प्रतिकूल अवस्था आउँदा विधान केरमेट गर्ने बानी परेका ओलीले सचिवालयबाट असफल भए पनि बहुमत रहेको केन्द्रीय कमिटीबाट नेता व्यवस्थापनका लागि पदाधिकारी थप्ने निर्णय गराएका छन् । योसँगै पदाधिकारी संख्या १५ सदस्यीयबाट बढाएर अब १९ सदस्यीय बनाउने निर्णय भएको छ । र, ईश्वर पोखरेलको पक्षमा जान तयार रहेका नेताहरुलाई रोक्न पद बाँडेर आफू शक्तिशाली बन्ने बाटो ओलीले खुला गरेका छन् । योसँगै अब अध्यक्ष एक, उपाध्यक्ष ६ बाट घटाएर पाँच, उपमहासचिव तीन र सचिव सातबाट बढाएर ९ पु¥याइएको छ । वरिष्ठ उपाध्यक्ष पद भने हटाइएको छ । यही निर्णयले एमालेको खेल अर्कै बाटोमा अघि बढ्ने विश्लेषण भइरहेको छ । किन कि अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलको प्रतिस्पर्धा टुंगो लागे पनि पदाधिकारी खुलेका छैनन् । ओलीले व्यवस्थापन गरे उतै सुरक्षित हुने भएकाले अधिकांश पदाधिकारी प्यानलमा नखुलेको बताइन्छ । योसँगै अब ओलीले पदाधिकारी व्यवस्थापनको ठाउँ बनाएका छन् ।