काठमाडौं— आगामी फागुन २१ गतेको प्रतिनिधिसभा र माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेसमा देशभरबाट नाम सिफारिस हुनेक्रम जारी छ । मंसिर मसान्तसम्म केन्द्रमा आइपुग्नेगरी उम्मेदवार सिफारिस गर्न मातहतका पार्टी कार्यालयलाई निर्देशन दिएसँगै देशैभरबाट उम्मेदवार सिफारिस भएकाको नाम सार्वजनिक भइरहेको छ । कांग्रेस विधानको धारा ३०, धारा ३३ (२) तथा धारा ६९ बमोजिम केन्द्रीय कार्यसमिति बैठकको निर्णयपछि प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फ तथा राष्ट्रियसभामा उम्मेदवार सिफारिस भएका छन् । योग्यता पुगेका व्यक्तिमध्येबाट प्रत्यक्षतर्फका लागि बढीमा एक महिलासहित तीन जना र समानुपातिकतर्फ समावेशी सिद्धान्तलाई ध्यानमा राखेर कम्तीमा एक महिलासहित बढीमा दुई जनाको नाम निर्णय गरेर सिफारिस गर्न निर्देशन दिइएको थियो ।
सभापति शेरबहादुर देउवा राजनीतिबाट सन्यास लिने चर्चाकाबीच डडेल्धुराबाट सिफारिस भएका छन् । देउवा २०४८ सालदेखि २०७९ सम्म सात पटक भएका प्रतिनिधिसभा निर्वाचनमा डडेलधुराबाट प्रतिस्पर्धा गरेर सबैमा निर्वाचित भएका छन् । देउवा २०४६ सालको जनआन्दोलन सफल भएपछि अहिलेसम्म भएका सबै निर्वाचन लड्ने र अपराजित रहने एक मात्र नेता हुन् । ७ पटक प्रतिस्पर्धा गरेर निर्वाचित देउवाले यो निर्वाचनमा आठौँ पटक भिड्ने तयारी गरेका हुन् । देउवा २०४८ सालमा गृहमन्त्री र ५ पटक प्रधानमन्त्री बनिसकेका छन् ।
देश


प्रतिक्रिया