देश

रोचक बन्दै ओली–ईश्वर भिडन्त, विष्णु र पृथ्वीसुब्बा निर्णायक, ओलीले मन्त्री बनाएका प्रतिनिधिमा हारे (भिडयोसहित)


काठमाडौं— नेकपा एमालेको तेस्रो पटक नेतृत्व गर्ने अभिलाषासहित अध्यक्ष केपी शर्मा ओली ११औं महाधिवेशनमा होमिने तयारी गरिरहँदा, उनलाई रोक्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि लागिपरेका छन् । महाधिवेशनमा आ–आफ्नो पकड सुनिश्चित गर्न प्रतिनिधि छनोट सम्पन्न भइसकेको छ । कतै संस्थापन पक्षबाट प्रतिनिधिहरू आएका छन् भने कतै इतर पक्षले बाजी मारेको छ । यसक्रममा संस्थापन र इतर पक्षबीच कुटाकुटको अवस्था समेत सिर्जना भयो । सुनसरीमा पोखरेलको पक्षमा खुलेर लागेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षले कुटाइ खायो भने मोरङमा ओली पक्ष कुटाइमा परे । यस्तै, महाधिवेशन प्रतिनिधि छनोटका लागि भएको निर्वाचनमा पूर्वमन्त्री, सांसद, जनसंगठन र जिल्ला अध्यक्षहरूदेखि नाम चलेका नेताहरू समेत पराजित भएका छन् । निर्वाचनमा कोशी प्रदेशका चार सांसदहरू हार्दा बागमतीमा दुई, गण्डकी र लुम्बिनीमा एक–एक सांसद प्रतिनिधि बन्नबाट अयोग्य ठहर भए । मकवानपुरका पार्टी अध्यक्षसँगै विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरू समेत पराजित भएका छन् । १४ जिल्ला रहेको कोशी प्रदेशको भोजपुर, ताप्लेजुङ, इलाम, पाँचथर र सोलुखुम्बुमा दुवै समूहले भागबन्डा गर्दै सर्वसम्मत प्रतिनिधि छानिएका छन् । ओलीकै गृहजिल्ला झापामा पनि सर्वसम्मत प्रतिनिधि छनोट हुन सकेको छैन । मोरङ–२, जुन मदन भण्डारीको निर्वाचन क्षेत्र र विद्यादेवी भण्डारीको प्रभाव क्षेत्र मानिन्छ, त्यहाँबाट ओलीले ऋषिकेश पोखरेलसहित चार प्रतिनिधि आफ्नो पोल्टामा पारेका छन् । ओखलढुङ्गामा ईश्वर पोखरेलको प्यानलले १२ वटै पदमा ‘क्लिन स्वीप’ गरेको छ । ओलीको गृहप्रदेश कोशीमा महाधिवेशन प्रतिनिधि चयनको गणित मिश्रित आए पनि समग्रमा ओली पक्ष नै हाबी छ ।