खेलकुद

TU रंगशाला कसले बनायो ?, ओली र प्रचण्डकै दाबी, एमाले ब्रान्डिङ गर्दै, कुलमानले जस लिए (भिडियोसहित)


काठमाडौं— त्रिवि क्रिकेट मैदानको पहिलो चरणको स्तरोन्नति सम्पन्न भएसँगै नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका खेलहरू सुरु भएका छन् । भर्खरै निर्मित प्यारापिट र जडान गरिएको फ्लडलाइटयुक्त त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीचको खेलसँगै प्रतियोगिताको उद्घाटन भएको छ । अब बाँकी ३१ खेल पनि यही मैदानमा हुनेछन् । दिउँसोको समयमा मात्रै र घाँसे मैदानमा बसेर खेल हेर्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै आरसीसी प्यारापिट र फ्लडलाइट जडानपछि रात्रिकालीन समयमा समेत खेल सञ्चालन गर्न सकिने गरी त्रिवि मैदानको स्तरोन्नति भएको हो । नेपाली खेलाडी र दर्शकको लामो समयदेखिको प्रतीक्षालाई तोड्दै त्रिवि मैदान नयाँ स्वरूपमा तयार हुँदा यसको जस लिने होडबाजी पनि चलेको छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री हुँदा राष्ट्रिय खेलकुद परिषद्लाई प्यारापिट र फ्लडलाइट जडान गर्न निर्देशन दिएकाले नै यो सम्भव भएको दाबी गरेका छन् । यता, नेकपा (एमाले) का नेताहरूले पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीको दूरदर्शिताको नतिजा रहेको भन्दै ओलीलाई धन्यवाद दिइरहेका छन् ।