Breaking

सुदनको धम्कीपछि काठमाडौँमा प्रहरीको कमाण्डो टोली परिचालन


काठमाडौं । आफूलाई जेनजी आन्दोलनका अभियान्ता बताउने सुदन गुुरुङको धम्कीपछि आज बिहानैदेखि काठमाडौंको संवेदनशील ठाउँमा प्रहरीको कमाण्डो टोली परिचालन गरिएको छ ।

बिहान ७ बजेदेखि नै प्रधानमन्त्री निवास, बालुवाटार र टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको क्षेत्रमा कमाण्डो टोली तैनाथ गरिएको हो । सोमबार राति प्रधानमन्त्री निवास, बालुवाटारमा गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा आईजी चन्द्रकुवेर खापुङलगायतको छलफल भएको थियो ।

सुदनले धम्की दिएपछि उक्त छलफल भएको हो । प्रधानमन्त्री सुशीला कार्कीले प्रहरी मनोबल खस्किने कुनै पनि कार्य जायज नभएको बताएकी थिइन् ।

हामी नेपालका संस्थापक सुदन गुरुङसहितको टोली हिजो पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने मागसहित किटानी जाहेरी लिएर प्रहरीकहाँ पुगेका थिए ।

प्रहरीले भदौ २३ र २४ को घटना छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेको भन्दै जाहेरी लिन मानेन । सुदनको टीम ‘सडकबाटै देखाइदिन्छौं’ भन्दै निस्केको थियो । सुरक्षा संवेदनशीलताको कारण देखाउँदै काठमाडौं उपत्यका प्रहरी परिसरले हिजै साँझ प्रहरी बिटका सबै टोलीलाई फिर्ता बोलाएको थियो ।