Breaking

कोसी ब्यारेजमा पानीको बहाब ३ लाख ३५ हजार क्युसेक नाघ्यो, ५० ढोका खोलिए


काठमाडौँ । सुनसरीको कोसी ब्यारेज भएर बहने पानीले सतर्कता तह पार गरेको छ। 

आइतबार बिहान गरिएको मापनअनुसार कोसी ब्यारेज भएर ३ लाख ३५ हजार ३६० क्युसेक प्रतिघण्टा पानी बगिरहेको छ। पानीको यो बहाब असाध्यै खतराको सङ्केत भएको सुरक्षा अधिकारीहरूले जनाएका छन्। 

कोसी ब्यारेजमा पानीको बहाब उच्च भएपछि ५६ मध्ये ५० वटा ढोका खोलिएका छन् । सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेका अनुसार ब्यारेजको पुलमा अहिलेसम्म सवारी साधनहरू रोकिएका छैनन्। तर, अब पानीको बहाव बढ्दै गएकोले पुलमा आवत जावत रोक्नु पर्ने अवस्था आउन सक्ने उनले बताए।

सप्तकोसी नदीमा बाढीले सतर्कता तह पार गरेकाले आसपासका बासिन्दालाई होसियारी अपनाउन भनिएको छ। जल तथा मौसम विज्ञान विभागले पनि सप्तकोसी नदी भएर बहने पानीले सतर्कता तह पार गरेकाले बाढी र डुबानबाट बच्न त्यस क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ।