खेलकुद

विश्वविजेता वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित


काठमाडौं— दुईपटक विश्वकप जितेको टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध नेपालले ऐतिहासिक जित निकालेको छ । युएईको सारजाह क्रिकेट मैदानमा गएराति सम्पन्न टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । वेस्ट इन्डिजले नौ विकेट गुमाउँदा १२९ रन मात्र बनाउन सक्यो ।

योसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता बनाएको छ । टेस्ट राष्ट्रविरुद्ध नेपालको यो नै पहिलो जित हो । यसअघि टेस्ट क्रिकेटका महारथी भारत, पाकिस्तान, दक्षिण अफ्रिका र बंगलादेशजस्ता देशसँग आइसिसी र एसिसीका ठुला प्रतियोगितामा नेपालले प्रतिस्पर्धा गरेको थियो । तर, उनीहरूसँग शृंखला खेलेको थिएन । वेस्ट इन्डिरविरुद्धको पहिलो खेलमै नेपालले उत्कृष्ट बलिङ, ब्याटिङ र फिल्डिङ गर्दै जित निकाल्यो ।

कप्तान रोहितकुमार पौडेल, अलराउन्डर कुशल भुर्तेलले सानदार प्रदर्शन गरेपछि नेपाल जित निकाल्न सफल भयो । पौडेल प्लेयर अफ दि म्याच बन्न सफल भए । अब, दोस्रो खेल सोमबार र तेस्रो खेल मंगलबार सारजाहमै हुनेछ ।