Breaking

अझै सञ्चालनमा आएन मुग्लिन-नारायणगढ सडकखण्ड, दुई रातसम्म यात्रु सडकमै


काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा नआएपछि यात्रुहरु अलपत्र परेका छन् । तुईन खोला पुल नजिक झरेको पहिरो अझै नरोकिएकाले यात्रुहरु अलपत्र परेका हुन् । 

 सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शनिबार साँझदेखि पनि निरन्तर पहिरो खसिरहेको छ। डिभिजन कार्यालय ले पहिरो हटाउन चारवटा लोडर र दुईवटा एक्साभेटर परिचालन गरेको थियो तर माथिबाट ढुंगा खसिरहेकाले पहिरो हटाउन सकिएको छैन ।

सडक खुल्न नसक्दा शुक्रबार बेलुकीदेखि नै गाडी सडकमै रोकिएका छन् । गन्तव्यमा हिँडेका सयौं यात्रु दुई रातसम्म सडकमै अलपत्र परेका छन् ।

शनिबार दिनभर पहिरो पन्छाउने प्रयास गर्दा पनि जोखिम कायमै रहेकाले साँझ भने काम स्थगित गरिएको कार्यालयले जनाएको छ। पहिरो पन्छाउने क्रममा ठुला ढुंगाहरू खस्दा एक्साभेटर चालक दुर्घटनाबाट जोगिएका थिए ।

रातिको समयमा काम गर्न असुरक्षित हुने भएकाले आइतबार बिहानै करिब ४ बजेदेखि पुनः पहिरो हटाउने कार्य सुरु गरिएको छ । सडक अवरुद्ध भएपछि अलपत्र यात्रुहरूलाई सुरक्षित स्थानमा बस्न र सडकमा अड्किएका सवारीसाधनलाई लेन अनुशासनमा राख्न कार्यालयले अनुरोध गरेको छ ।

कार्यालयले मुग्लिन सडकको विकल्पमा नौबिसे–दामन–हेटौंडा र कालिगण्डकी करिडोरको मुग्लिन–भिमाद–डेढगाउँ–गैंडाकोट सडक प्रयोग गर्न आग्रह पनि गरेको छ ।