समाचार

सरकारले दिएको म्यादभित्र सम्पर्कमा आएनन् फेसबुकलगायतका सामाजिक सञ्जाल


काठमाडौं— सूचीकरणका लागि मन्त्रिपरिषद्बाट निर्णय गर्दा पनि फेसबुक, एक्सजस्ता सामाजिक सञ्जाल सञ्चालन गर्ने अन्तर्राष्ट्रिय टेक कम्पनीले बेवास्ता गरेका छन् । बुधबारसम्म सूचीकरण गर्नुपर्ने भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दा पनि ती कम्पनी सम्पर्कमै नआएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रीस्तरीय बैठकले आवश्यक निर्णय लिएपछि थप प्रक्रिय अघि बढ्ने मन्त्रालयका अधिकारीहरूले बताएका छन् । मन्त्रिपरिषद्ले सूचीकरणमा नआएका सामाजिक सञ्जाललाई निष्क्रिय बनाउन निर्देशन दिने निर्णय गरिसकेको छ ।

गत ९ भदौको मन्त्रिपरिषद्को बैठकले सात दिनभित्र सूचीकरण हुन नआउने वा सूचीकरणका लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणबाट पुनः सक्रिय गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको थियो ।