काठमाडौं— उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र कर्णाली प्रदेशवासीले आज उज्याली गौरा पर्व मनाउँदैछन् ।
शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ। पहिलोपटक व्रत बस्नेले उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ।
यस दिन दुबो र गौराको पूजा गरे सौभाग्य, सन्तान प्राप्त हुने, कार्यसिद्धि हुने विश्वास गरिन्छ । सूदुरपश्चिमवासीले देउडा गीत गाएर नृत्य गरी रमाइलो गर्छन् ।
गौरापर्वकै अवसरमा सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमबार सार्वजनिक बिदा दिइएको छ । नेपाल सरकारले आज र प्रदेश सरकारले भोलि गौरापर्वको बिदा दिएको हो । गौरा पर्वको अवसरमा काठमाडौँको टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।
यसैबीच, शुभकामना दिंदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वले नारी शक्ति, समर्पण, भक्ति र संस्कृतिप्रतिको आस्थालाई उजागर गरेको बताएका छन् । गौराले जनजीवनमा गहिरो सांस्कृतिक छाप छाड्नुका साथै एक विशिष्ट पहिचान पनि निर्माण गरेको देउवाले उल्लेख गरेका छन् ।


प्रतिक्रिया