Breaking

भियतनामबाट गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गराउन उपराष्ट्रपति सुआनलाई पराष्ट्रमन्त्रीको आग्रह


काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनलाई भियतनामबाट गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गराउन आग्रह गरेकी छन् ।

शनिबार नेपाल भ्रमणमा आएकी उपराष्ट्रपति सुआनसँगको शिष्टाचार भेटका क्रममा परराष्ट्रमन्त्री राणाले बुद्ध जन्मस्थल लुम्बिनीमा वर्षेनी ठूलो संख्यामा भियतनामी आउने गरेको प्रसंग जोड्दै सोझै हवाई उडानको पहल गर्न आग्रह गरेकी हुन् ।

दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्नुपर्ने र बौद्ध धर्म दुवै देश र जनताका बीचको सम्बन्ध विस्तारको एक सबल कडी रहेकोमा उनको जोड थियो ।

भ्रमणका क्रममा भोलि उपराष्ट्रपति यादव र समकक्षी सुआनबीच द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै उपराष्ट्रपति सुआनले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।।