मनोरञ्जन

फिल्म चलाउन कलाकारका नौटंकी, जुठो खानेदेखि खुट्टा ढोग्नेसम्म, हलमा नेता उतार्दा पनि चल्दैन फिल्म (भिडियो)


काठमाडौं— यी हुन् केदार घिमिरे अर्थात् माग्ने बुढा । ६१ लाख पारिश्रमिक लिएको भन्दै चर्चामा रहेका उनको चलचित्र ‘माग्ने राजा’ भदौ ६ गतेदेखि चलचित्र हलमा रिलिज हुँदै छ । तीजको अवसरमा आउन लागेको यो फिल्मले कति तहल्का मच्चाउला, त्यो भविष्यले बताउला, तर यसको प्रचार गर्न निर्माण टिमलाई अनेक काण्ड गर्नुपरेको छ । हो, त्यसैको उपज हो पारिश्रमिकको विषय । तर, ‘ब्याक फायर’ भएपछि घिमिरेले नै ६१ लाख पारिश्रमिक लिएको झुटो हो भनेर सार्वजनिक कार्यक्रममार्फत नै स्पष्ट पारिसकेका छन् । यता ६१ लाख नै पारिश्रमिक दिएको भनेर कलाको मन्दिर प्रज्ञा प्रतिष्ठानको कसम खाने निर्माता मुनाल घिमिरे भने कुरा मोडेर उम्किने प्रयासमा छन् । जे होस्, यो फिल्मको हाइप बढाउने हत्कन्डा भएको प्रस्ट भइसकेको छ ।