शिक्षा

निजी विद्यालयलाई गैरनाफामुलक बनाउँदा नेपालमा शिक्षाको स्तर झनै खस्किन्छः राप्रपा सांसद जैसवाल


राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामुलक बनाउने कुराले नेपालमा शिक्षाको स्तर झनै खस्किने बताएकि छिन् । बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकि हुन् ।

उनले कम्पनी एक्टअनुसार सञ्चालन भइरहेको छ भने त्यसलाई गैरनाफामुलक कुरा सही नभएको बताईन् । उनले निजी विद्यालयहरुले नाफा नै नकमाउने हो भने अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन नसक्ने जिकिर गरीन् ।

उनले भनीन् ‘निजी विद्यालयलाई गैरनाफामुलक बनाउने कुरा छ, यसमा के भन्छु भनेँ निजी विद्यालय भन्ने बित्तिकै कम्पनी एक्टअनुसार सञ्चालन भइरहेको छ भने त्यसलाई कसरी गैरनाफामुलक बनाउने हुनसक्छ ? जब निजी स्कुलहरुले लगानी गरेर, लोन लिएर, जग्गा बेचेर एउटा बिजनेसको तवरमा लगिरहेको छ भने त्यसको पार्ट अफ द प्रफिट त आउनुप¥यो । नत्र सञ्चालन कसरी गर्ने ? अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन त्यसअनुसारकै भौतिक संरचना, करिकुलमहरु हुनुपर्छ । नाफा कमाएनन् भने त्यस स्तरको शिक्षा दिन पनि गाह्रो हुन्छ ।’

सांसद जैसवालले शिक्षा सेवामुलक मात्रै हुनुपर्ने भन्नेकुरा सही नभएको बताईन् ।