समाचार

भारत–चीन मिलेरै लिपुलेक कब्जा, ओली–आरजु बेखबर, बालेनले भ्रमण रद्द गरेका थिए, ओलीले के गर्लान् ? (भिडियोसहित)


काठमाडौं— नेपाललाई नै बाईपास गर्दै लिपुलेक पासबाट व्यापार गर्ने भारत र चीनले सहमति गरेपछि यसले नेपालमा तरङ्ग ल्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी भारत भ्रमणमा रहेका बेला भारत र चीनबीच भएका विभिन्न सहमतिमा यो विषय समेटिएको हो । उनले लिपुलेक पास द्विपक्षीय व्यापारका लागि खोल्ने सहमति गरेका हुन् भने दुई पक्षबीच भएको सहमतिको ९ नम्बर बुँदामा उक्त पास खोल्ने उल्लेख छ । अर्थात्, नेपाली भूमि लिपुलेकबारे जानकारी नै नगराई सीमा खोल्न उनीहरूबीच सहमति भएको हो । जबकि सन् २०१५ मा पनि उनीहरूले उक्त पास खोल्ने सहमति गरेपछि नेपालले विरोध जनाएको थियो । प्रतिक्रियामा दुवै देशलाई कूटनीतिक नोट पनि पठाएको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सक्रियतामा कूटनीतिक नोट पठाइएको भए पनि भारतले मौनता देखाएको थियो । त्यसपछि भारतले एकतर्फी रूपमा लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा मार्ग सञ्चालन गरेपछि नेपालले २०७७ सालमा नयाँ राजनीतिक नक्सा जारी गर्दै लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई नेपालको भूभाग घोषणा गरेको थियो । तर अहिले फेरि सो क्षेत्रको सहमतिमा नेपाललाई बेवास्ता गरिएपछि भारतको मात्र नभई चीनको नियतमाथि समेत प्रश्न उठेको हो । फेरि यो सहमति यस्तो समयमा भएको छ, जतिबेला प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको तयारी गरिरहेका छन् । त्योभन्दा अघि उनी चीन जाने कार्यक्रम छ भने सो अवसरमा समेत मोदीसँग भेट हुने बताइएको छ । फलतः चुच्चे नक्साकै कारण स्थापित ओलीले सरकारको नेतृत्व गरिरहँदा उनले कसरी यो विषयलाई उठाउँछन्, चासो अब त्यसतर्फ केन्द्रित भएको छ ।