देश

रास्वपामा तनाव, इन्दिरा हटाउँदै कांग्रेस–एमाले, बहुमत पुर्‍याउन साना दलको साथ, कांग्रेसलाई उपसभामुख


काठमाडौं— एक वर्षअघिको पुरानो प्रकरणलाई कोट्याउँदै फेरि दोस्रोपटक उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन सत्तारुढ दलहरुले आन्तरिक कसरत थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले अग्रसरता देखाएसँगै दुई तिहाइ बहुमतको सरकारले उपसभामुख रानाविरुद्ध महाअभियोगकै तयारी गरेको हो । मंगलबार सुटुक्क आफ्ना सांसदहरूलाई बोलाएर गरिएको हस्ताक्षर संकलनले यो तयारी उत्कर्षमा पुगेको संकेत गरेको छ । यो सत्तापक्षको यो पहिलो प्रयास भने होइन । करिब एक वर्षअघि, गत वर्षको भदौ महिनामै रानालाई हटाउने यस्तै असफल प्रयास भएको थियो । तर, चौतर्फी आलोचना र संसदको अंकगणितको प्रतिकूलता देखेर सत्तापक्ष पछि हटेको थियो । गत वर्षको भदौ ३१ गते प्रधानमन्त्री ओली स्वयंले संसदको रोस्ट्रमबाटै ‘महाअभियोगको हल्ला निराधार हो’ भन्दै स्पष्टीकरण दिनुपरेको थियो ।