अन्तर्राष्ट्रिय

पुटिनकै अगाडि अमेरिकाको शक्ति प्रदर्शन, बी–२ बमवर्षक विमान, ट्रम्पले दिन खोजेको सन्देश के ? (भिडियोसहित)


काठमाडौं— अलास्काको जोइन्ट बेस एल्मेन्डोर्फ–रिचर्डसनमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई शुक्रबार राति रेड कार्पेटमा स्वागत गरे । पुटिनको स्वागतका क्रममा अमेरिकी वायुसेनाका बी–२ स्पिरिट स्टेल्थ बमवर्षक र चारवटा एफ–३५ लाइटनिङ फाइटर जेटहरूले आकाशमा प्रदर्शन गरे । लामो दूरीको आक्रमण क्षमताका लागि प्रसिद्ध बी–२ बमवर्षक हालै मात्र इरानका आणविक स्थलहरूमा बम हान्न प्रयोग गरिएका थिए । दुई नेताबीचको शिखर वार्ताअघि नै ती बमवर्षकहरू उक्त बेसमा तैनाथ थिए । यो उडानलाई ‘नर्दन एज २०२५’ अभ्यासको हिस्सा मानिए पनि धेरैले यसलाई अमेरिकाको सैन्य शक्तिको प्रदर्शनका रूपमा व्याख्या गरेका छन् । केही कूटनीतिज्ञले यसलाई ट्रम्पको एउटा चाल भनेका छन् । अमेरिकाले फेरि एकपटक आफ्नो शक्ति देखाउने मात्र होइन, आक्रोशपूर्ण ढङ्गले प्रदर्शन गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनको स्वागत कार्यक्रमलाई सामान्य कूटनीतिक सम्मान ठान्न सकिँदैन, किनभने आकाशभरि उडिरहेका बमवर्षक र लडाकु विमानहरूले स्पष्ट सन्देश पठाएका छन् ।