काठमाडौं — प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति अहिले नेतृत्वविहिन छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ को दफा ८२ को उपदफा ४ मा रहेको निजामती कर्मचारीको ‘कुलिङ अफ पिरियड’ राख्न गरिएको व्यवस्थामा भएको छेडखानीलाई लिएर नैतिक प्रश्न उठेपछि समिति सभापतिबाट कांग्रेस सांसद रामहरि खतिवडाले राजीनामा दिएसँगै समिति नेतृत्वविहिन हुन पुगेको हो । २०८० वैशाख ७ गते भएको भागबन्डा अनुसार कांग्रेसको भागमा परेको समिति सभापतिको पद रिक्त भएसँगै कांग्रेसभित्र आकांक्षीहरूको दौडधुप सुरु भएको छ । यसअघि खतिवडा एकल उम्मेदवारीका आधारमा निर्विरोध निर्वाचित भएका थिए । राज्य व्यवस्था समितिमा नेपाली कांग्रेसका ९ जना सदस्य छन्, जसमध्ये रामहरि खतिवडा दौडबाट बाहिरिइसकेका छन् । पार्टीका पदाधिकारीहरूमध्ये उपसभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समितिको सभापति बन्ने दौडमा छैनन् । महामन्त्री विश्वप्रकाश शर्माले यसबारे स्पष्टीकरण नै दिइसकेका छन् ।
देश


प्रतिक्रिया