देश

रविको न्यायका लागि भौतारिँदै निकिता,गृहमन्त्रीलाई चेतावनी,प्रधानन्यायाधीशमाथि प्रश्न,अब बाटो के ? (भिडियोसहित)


काठमाडौं— सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने कारागार चलान भएपछि सबैभन्दा बढी पीडामा कोही छ भने, ती हुन् रविपत्नी निकिता पौडेल लामिछाने । ८४ दिनको हिरासत बसाइपछि हाल भैरहवा कारागारमा ४२ डिग्रीको गर्मी खाइरहेका रवि जति कारागारभित्र छटपटाइरहेका छन्, त्योभन्दा बढी छटपटी निकिताको बाहिर देखिन्छ । बुधबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले गृहमन्त्री रमेश लेखकमाथि विभिन्न गम्भीर आरोप र प्रश्न तेस्र्याएकी छन् । उनले प्रश्न गरेकी छन्, ‘आम थुनुवाले पाउने अड्डासारको सुविधा, मेरा श्रीमानका हकमा अदालतले आदेश दिँदा पनि तपाईंको निर्देशनमा किन रोकिन्छ ?’ साथै, अदालतमा मुद्दाको पेसी चढेपछि गृहमन्त्रीकै निर्देशनमा न्यायिक परिषदमा उजुरी पर्ने गरेको र त्यसको ड्राफ्ट गृहमन्त्रीकै कार्यकक्षमा बन्ने गरेको उनको आरोप छ । न्यायाधीश तर्साउन गृहमन्त्री स्वयं लागेको आरोप लगाउँदै निकिताले थप प्रश्न गरेकी छन्, ‘न्यायालयलाई खुल्लमखुल्ला धम्क्याउने यो आँट तपाईंलाई कहाँबाट आउँछ ? रुपन्देही कारागारमा श्रीमान् भेट्न जाँदा मेरो पछि–पछि किन र केका डरले तपाईंका सङ्गठन र संरचना लगाउनुहुन्छ ?’ उनले लेखक गृहमन्त्री भएपछि मात्र रविमाथि सबै मुद्दा लागेको र तीमध्ये कुनै पनि हदम्यादभित्र नरहेको दाबी गरेकी छन् । यता, गृहमन्त्री रमेश लेखकले भने रविलाई सकेजति सुविधा दिएको र अरूलाई भन्दा सहज रूपमा एक्लै कारागारमा राखिएको दाबी गरेका छन् ।