देश

मोदी र सी भेट्न ओली फेरि चीन जाँदै, आरजुको विदेश दौडाहा बढ्दै, देशको अन्तर्राष्ट्रिय स्तर भने खस्किँदै (भिडियोसहित)


काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ १४ गते उत्तरी छिमेकी चीन भ्रमणमा जाने भएका छन् । यो भ्रमणबारे औपचारिक घोषणा हुन बाँकी छ, तर प्रधानमन्त्री ओली अगस्ट ३१ र सेप्टेम्बर १ मा चीनको तियानजिन सहरमा आयोजना हुने शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन जाने बताइएको छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने भनिएको उक्त सम्मेलनमा उनी नजाने भएपछि प्रधानमन्त्री जान लागेका हुन् । एससीओमा सहभागी मुलुकहरू भारत–पाकिस्तानबीच जारी तनाव, त्यसमा चीनको उपस्थितिदेखि युद्धग्रस्त रुस र इरानका राष्ट्रप्रमुखहरूको सहभागिता र विश्व दुई ध्रुवमा विभाजित भइरहेका बेला हुन लागेको यो सम्मेलनलाई अझ महत्त्वका साथ हेरिएको छ । यस अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको सम्भावित त्रिपक्षीय भेटवार्ताले विश्वको ध्यान तानेको छ ।