काठमाडौं— बिहीबारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), निरन्तर संसद् बहिष्कार गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । बुधबार संसदमा सम्बोधनका क्रममा आफ्नो विदेश भ्रमणको फेहरिस्त सुनाएका प्रधानमन्त्री ओलीले अधिकांश समय विपक्षीको टीकाटिप्पणी र आरोप–प्रत्यारोपमा केन्द्रित गरेका थिए । बिहीबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीले सांसदहरूको अपमान गर्दै सदनमा झुट बोलेको आरोप लगाए । बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले प्रधानमन्त्रीले सदनमा बोल्दा कामको प्रगतिभन्दा पनि विपक्षीमाथि कटाक्ष गर्न धेरै समय खर्चिएको टिप्पणी गरिन् । उनले सरकारले बहुविवाहलाई घुमाउरो पाराले वैधता दिन खोजेको कुरा विधेयकमा स्पष्ट देखिएको बताउँदै मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको विधेयकको दफा ३३ ले अपराध संहिताको दफा १७५ मा उपदफा ५ पछि थपेको खण्ड ‘क’ को व्यवस्था राम्रोसँग अध्ययन गर्न प्रधानमन्त्रीलाई अनुरोध गरिन् । उनले तथ्य र प्रमाणका आधारमा सांसदले संसदमा उठाउने विषयलाई प्रधानमन्त्रीले ‘सामाजिक सञ्जालको कन्टेन्ट निर्माण गर्ने थलो’ भनेर दिएको अभिव्यक्तिले सांसदहरूको अपमान गरेको भन्दै खेद प्रकट गरिन् ।
देश


प्रतिक्रिया