समाचार

फोनिजको २६ औं स्थापना दिवसमा १२ पत्रकार सम्मानित


काठमाडौं— नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २६ औं स्थापना दिवस मनाएको छ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा उद्घाटन गरिएको कार्यक्रममा फोनिजले १२ जना पत्रकारलाई सम्मान गरेको छ ।

त्यस्तै, फोनिज पत्रकारिता पुरस्कारबाट पत्रकार सविन प्रियसन, मुनेस रायो मगर, बन्दना दनुवार पुरस्कृत हुनुभयो । नगद २५ हजार र प्रमाणपत्रले उहाँहरुलाई पुरस्कृत गरिएको छ । त्यस्तै, अमेरिकामा रहेर पत्रकारिता गरिरहनुभएकी पत्रकार मच्छे गुरुङलाई फोनिज प्रवास अवार्ड २०८२ ले सम्मान गरिएको छ ।

यस्तै, फोनिज मलेसिया पुरस्कारबाट सपना थामी र ज्ञानेन्द्र तामाङ पुरस्कृत हुनुभयो । नगद १० हजार सहित सम्मानपत्रले उहाँहरु पुरस्कृत हुनुभयो । त्यस्तै, फोनिज युके पत्रकारिता पुरस्कार २०८२ बाट आश गुरुङ र डोल्मा शेर्पा र फोनिज बागमती प्रदेश समितिबाट स्थापना गरिएको फोनिज पुरस्कार २०८२ बाट पूर्णबहादुर मगर पुरस्कृत हुनुभयो ।

फोनिज पत्रकारिता सम्मान २०८२ बाट पत्रकार गजुरधन राई, अमरध्वज लामा र राजवंशी भाषाको त्रैमासिक पत्रिका कोचिला सामानलाई सम्मानित गरिएको हो । सम्मानको राशी नगद ३१ हजार र सम्मानपत्र रहेको छ ।

कार्यक्रमको अवसरमा सञ्चारमन्त्री गुरुङले पत्रकारको काम सत्यको उजागर गर्ने रहेकाले समाज, देश र जनताको पक्षमा कलम चलाउन आग्रह गरे । फोनिजको कार्यक्रमको सफलताको शुभकामना दिदै उनले सम्मानित तथा पुरस्कृत सबैलाई बधाई ज्ञापन गरे ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आदिबासी जनजाति पत्रकारहरु मुलुकको आवाज भएको बताउँदै उहाँले पत्रकारलाई अंकुश लगाउन नहुने धारणा राखे ।

पूर्वमन्त्री हितबहादुर तामाङले पत्रकारलाई बोल्न र लेख्ने अधिकार सधैं सुनिश्चित हुनुपर्ने बताए । आदिबासीले आफ्नो भूमि सुरक्षा गर्न नसकिरहेका बेला पत्रकारले त्यसमा सचेतनाको काम गर्नुपर्ने उनले सुझाव दिए । पूर्वमन्त्री तथा एमाले नेत्री भगवती चौधरीले पत्रकारले सत्यतथ्यलाई ध्यान दिएर कलम चलाउनु पर्ने उल्लेख गरिन् । मुलुक र जनतालाई बाटो देखाउने जिम्मेवारी पत्रकारले गरिरहेको उनको भनाई थियो ।

फोनिजका संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङले राज्यमा समावेशीता ल्याउनुपर्छ भन्ने उद्देश्यका साथ फोनिज स्थापना भएको बताउनुभयो ।

नेपाल आदिवासी जनजाति महासङ्का अध्यक्ष गेल्जे लामा शेर्पाले पत्रकारले अध्ययन, अनुसन्धान गरेर मात्र समाचार प्रकाशन गर्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले महासङ्घको संस्थापक अध्यक्षको विषयमा छलफल अघि बढिरहेको भन्नुहुँदै यसप्रति आफूहरु सकारात्मक रहेको बताईन् । यस विषयमा फोनिजले झक्झकाइरहेको उल्लेख गर्नुहुँदै पत्रकार महासङ्घ पनि यस विषयमा सचेत रहेको अध्यक्ष शर्माले बताईन् ।

कार्यक्रममा थारु, तामाङ, मगर, नेवा र शेर्पा समुदायको नृत्य प्रस्तुत गरिएको थियो ।