खेलकुद

एनओसी विवाद थप पेचिलो बन्दै, पूर्वअध्यक्ष प्रधानको नेतृत्वमा गठित तदर्थ समितिलाई सरकारको साथ


काठमाडौं— पूर्वअध्यक्ष ध्रुवबहादुर प्रधानको अध्यक्षतामा नेपाल ओलम्पिक कमिटी (एनओसी)को नयाँ तदर्थ समिति गठन गरिएसँगै विवाद थप पेचिलो बनेको छ । प्रधान नेतृत्वको तदर्थ समितिलाई सरकारले मान्यता दिएको छ भने जीवनराम श्रेष्ठ नेतृत्वको एनओसीलाई अन्तर्राष्ट्रिय मान्यता छ ।

प्रधानमन्त्री केपी ओलीले केही समयअघि समानान्तर कमिटी गठन गरेर जान निर्देशन दिएपछि प्रधानको नेतृत्वमा तदर्थ समिति गठन गरिएको बताइएको छ । एनओसीसँगको कटुतापूर्ण सम्बन्ध रहेका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एनओसी अवैधानिक रहेको दाबी गरेका थिए ।

तदर्थ समितिका प्रवक्ता समिम मिया अन्सारीले प्रधानको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको जानकारी दिए । अन्सारीले एनओसीसँग आबद्ध २३ राष्ट्रिय खेल संघका अध्यक्ष, महासचिव तथा पदाधिकारीहरूको भेलाले तदर्थ समिति गठन गरेको एनओसीको लेटरहेड तथा छाप प्रयोग गरी नेपाल ओलम्पिक कमिटीको नाममा जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सरकारको असहमतिका बावजुद एनओसीले गत पुसमा निर्वाचन गरेर अध्यक्षमा जीवनराम श्रेष्ठलाई लगातार तेस्रो कार्यकालका लागि चुनेको थियो ।