मौसम

आगामी २४ घण्टा मनसुन सक्रिय रहने, सात वटै प्रदेशमा वर्षा


काठमाडौं— मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने जनाएको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको तराई आसपास अवस्थित छ ।

आज बिहान सात वटै प्रदेशमा वर्षा भएको छ । महाशाखाका अनुसार मधेस, बागमती, कर्णाली र सुदूपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ । अन्य प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ।

आज देशभर पूर्णतया बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।