अन्तर्राष्ट्रिय

पहिलोपटक भेट्दै ट्रम्प–पुटिन, युद्ध रोक्ने एजेन्डा, जेलेन्स्कीको सहभागिता बहसमा, रुसले गर्ला जमिन फिर्ता ? (भिडियोसहित)


काठमाडौं— अगस्ट १५ अर्थात् आगामी शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच द्विपक्षीय भेटवार्ता हुँदैछ । यो भेटवार्ता अमेरिकाको अलास्कामा हुनेछ । रुस–युक्रेन युद्ध अन्त्य गर्नेबारे यसअघि पटक–पटक फोन वार्ता भए पनि ट्रम्प र पुटिनबीचको यो पहिलो प्रत्यक्ष वार्ता हो । सन् २०१५ पछि पहिलो पटक रुसी राष्ट्रपति पुटिन अमेरिकाको औपचारिक भ्रमणमा निस्कन लागेका हुन् । अझ भनौं, भारतसहित आफ्नो मुलुकबाट पेट्रोलियम पदार्थ खरिद गर्ने दर्जनौं मुलुकमाथि अमेरिकाले उच्च भन्सार शुल्क लगाएपछि दबाब खेपिरहेका पुटिन ट्रम्पसँग वार्ता गर्न अमेरिका ओर्लन तयार भएको विश्लेषण भइरहेको छ । यसअघि भारतबाट आयात हुने सामानमा ५० प्रतिशत कर लगाएका ट्रम्पले पुटिनको फोनपछि भारतविरुद्ध थप कदम नचालेको प्रतिक्रिया दिएका थिए । यसले पनि पुटिन दबाबमा परेरै वार्ताका लागि तयार भएको बुझ्न सकिन्छ । अमेरिकाले रुसको सबैभन्दा ठूलो र दोस्रो ठूलो तेल खरिदकर्ताहरूलाई रुसबाट तेल खरिद गरेको भन्दै ५० प्रतिशत कर लगाउने घोषणा गरेको थियो ।