राजनीति

रोकिएन ओली–विद्या भिडन्त, मदनकै बदनाम गरे, फाउन्डेसनले नेता बनायो, त्यसैमाथि निर्मम प्रहार (भिडियोसहित)


काठमाडौं— एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणापछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग बिच्किएका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली झनै निर्मम बन्दै गएका छन् । संस्थागत निर्णय नै गराएर विद्याको राजनीतिक यात्रालाई पूर्णविराम लगाएका ओली, विद्यानिकट समूह हुँदै सङ्गठनमाथिको प्रहारमा उत्रिएका छन् । पछिल्लो समय आफूविरुद्ध प्रयोग हुन थालेपछि मदन भण्डारी फाउन्डेसन ओलीको निशानामा परेको छ । भण्डारीलाई ‘राजनीतिमा प्रतिबन्ध लगाउने’ निर्णय गरेका ओलीले भण्डारीपुत्री उषाकिरण भण्डारी अध्यक्ष रहेको फाउन्डेसनमाथि घेराबन्दी थालेका हुन् । यसको कारण हो— निजी निवास भङ्गालबाट राजनीतिक गतिविधिमा सक्रिय विद्या भण्डारीले मदन भण्डारी फाउन्डेसनमार्फत आफ्ना श्रीमान् मदन भण्डारीले पहिलो निर्वाचनमा कार्यालय बनाएको घर भाडामा लिएर सम्पर्क कार्यालय स्थापना गरी राजनीतिमा पुनरागमन गर्ने नीति बनाउनु । यही कदमपछि झस्किएका ओली फाउन्डेसनविरुद्ध आगो ओकल्न थालेका छन् । आफूनिकट एमाले उपमहासचिव प्रदीप ज्ञवालीको नेतृत्वमा तीन दशकपछि मदन–आश्रित स्मृति प्रतिष्ठानलाई सक्रिय बनाएर विद्यालाई काउन्टर दिएका ओलीले मदन भण्डारी फाउन्डेसन पार्टीले नबनाएको दाबी गरेका छन् ।