अपराध

नेपालमा विदेशी नागरिकको अपराधको साम्राज्य, भटाभट देश निकाला गर्दै सरकार, कुन देशका कति ? (भिडियोसहित)


काठमाडौं— कुनै पनि देशको कानुनले वर्जित गरेको कार्य गर्ने व्यक्ति कसुरदार ठहरिन्छ । त्यसैले, जुनसुकै देशको कानुन उल्लङ्घन गर्ने छुट कसैलाई हुँदैन । संसारका विभिन्न मुलुकमा रहेका नेपालीहरूले सम्बन्धित राष्ट्रको कानुनविपरीत काम गर्दा ती देशहरूबाट निष्कासित हुनुपरेको छ । तर, रोचक तथ्य के छ भने, नेपालबाट निष्कासित हुने विदेशीहरूको सङ्ख्या पनि उल्लेख्य छ । नेपालमा धेरै विदेशी पर्यटक आउने गरे तापनि कतिपयको उद्देश्य फरक हुँदा उनीहरू गैरकानुनी काममा संलग्न हुने गरेका छन् । नेपालको अध्यागमन ऐनमा विभिन्न अध्यागमन कसुरहरू उल्लेख गरिएका छन् । भिसाको अवधिभन्दा बढी बस्ने (ओभरस्टे), नक्कली भिसा र राहदानी प्रयोग गर्ने, लागुऔषध कारोबार, विदेशी मुद्रा अपचलन, मानव बेचबिखन, यौन दुराचार र अभद्र व्यवहारजस्ता कसुरमा संलग्न विदेशी नागरिकलाई कसुरअनुसार अवधि तोकेर वा नतोकेर सम्बन्धित मुलुकमा निष्कासन गर्ने कानुनी प्रावधान छ । यही प्रावधानमा टेकेर अध्यागमन विभागले विदेशी नागरिकहरूलाई निष्कासन गर्दै आएको छ ।