देश

माधव–प्रचण्ड ठेगान लगाउन चार भाइ कम्युनिस्टको बैठक, नयाँ पार्टी खोल्नेदेखि विद्रोहसम्मका छलफल (भिडियोसहित)


काठमाडौं— संसदको पहिलो दल कांग्रेस र दोस्रो दल एमालेले सत्ता सम्हालेयता साना राजनीतिक दलहरू फुर्सदमा छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित साना दलहरू एजेन्डाविहीन भएका छन् । एजेन्डाको खडेरीमा रहेका नेताहरू कहिले आफैँ झगडा गर्छन् त कहिले अरूलाई खुइलयाएर जसोतसो दिनचर्या धानिरहेका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीदेखि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासम्मका साना कम्युनिस्ट शक्तिहरूको रमिता कन्तबिजोगको छैन । माओवादी केन्द्रमा अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माको शक्ति संघर्ष, नेकपा (एस)मा अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालबीचको टकराव, नेकपाका महासचिव विप्लव र नेता खड्गबहादुर विश्वकर्माबीचको आन्तरिक कलहले नेपाली राजनीतिमा तरंग पैदा गरिरहेको छ । उदेकलाग्दो त के छ भने, आफैँ मिल्न नसकेका यी दल र नेताहरूले एक–अर्कामा समाहित हुने र पार्टी एकता गर्ने बहस चलाएर जग हँसाएका छन् । आफैँ छटपटीमा रहेका नारायणकाजी श्रेष्ठदेखि घनश्याम भुसाल, उपेन्द्र यादव हुँदै विप्लवसम्मको राजनीतिक दौडको रहस्य के हो त ?