Breaking

एकीकृत समाजवादीको स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समिति बैठक २० दिनपछि सारियो


काठमाडौं । एकीकृत समाजवादीले स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकको मिति परिवर्तन गरेको छ ।

२० दिनपछि बस्ने गरी एकीकृत समाजवादीले बैठकको मिति संशोधन गरेको हो । अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबिच कलह चुलिएको बेला सोही विषयमा छलफल गर्न बैठक बोलाइएको हो । संशोधित सूचनाअनुसार अब स्थायी समिति बैठक भदौ २५ र पोलिटब्यूरो बैठक भदौ २६ गते बस्ने छ ।

यस्तै, केन्द्रीय समिति बैठक भदौ २७ र २८ गते बस्ने गरी बोलाइएको छ । सम्मानित नेता खनाल र वरिष्ठ नेता वामदेव गौतमबीच भेटवार्ता भएपछि अध्यक्ष नेपालले बैठकको मिति परिवर्तन गरेका हुन् । उक्त भेटले आफूमाथि घेराबन्दी भएको महसुस गरेर नेपालले मिति सार्न महासचिव घनश्याम भुसाललाई निर्देशन दिएको बताइएको छ ।

पतञ्जली जग्गा प्रकरणमा अख्तियारले मुद्दा दायर गरेपछि नेपाल नैतिक दबाबमा हुनुहुन्छ । बैठकको मिति तत्कालै परिवर्तन गरिएकोमा केन्द्रीय सदस्यहरूले आपत्ति जनाएका छन् । अपरिपक्व निर्णय नगर्न उनीहरूले नेतृत्वको ध्यानाकर्षणसमेत गराएका छन् ।