Breaking

‘गाईजात्रा’ पर्व आज मनाइँदै, काठमाडौं उपत्याकासहित बागमती प्रदेशमा सार्वजनिक बिदा


काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज मनाइँदै छ ।

काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा गाईजात्रा मनाइँदैछ।एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ ।

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आआफ्नो घरका दिवंगत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ।

यसैबीच, विकृतिका विरुद्ध हास्यव्यंग्यका रुपमा समेत गाईजात्रा मनइन्छ । हाँस्य कलाकारहरूले कार्यक्रमको आयोजना गरेका छन् । सरकारले आज काठमाडौं उपत्याकासहित बागमति प्रदेशमा सार्वजनिक बिदा दिएको छ।