राजनीति

देउवा–ओली गलाउने गगन–विश्वको रणनीति, फाइब स्टारको लन्चमा के भयो ? धरापमा रामहरिको पद (भिडियोसहित)


काठमाडौं— नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक कलह र सत्तासमीकरणमा सन्तुलित तालमेल नहुँदा पार्टी महामन्त्रीद्वयको छटपटी बढ्दो छ । सदनमा अन्य पार्टीका नेताहरूलाई नैतिकताको पाठ पढाइरहने कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा अहिले आफ्नै पार्टीका नेताहरू नैतिकताको बन्धनमा बाँधिदा दबाब महसुस गरिरहेका छन् । सुशासनको नारा दिएर नथाक्ने महामन्त्रीद्वय थापा र शर्माको छटपटी बढिरहँदा उनीहरूले पार्टी नेतृत्व र सरकारमाथि दबाब बढाउन थालेका छन् । सरकार सञ्चालन सम्बन्धी उच्चस्तरीय संयन्त्रमा रहेर पनि बालुवाटार बैठकमा जान छाडेका महामन्त्री थापा र अर्का महामन्त्री शर्माले बिहीबार गृहमन्त्री रमेश लेखकसँग साढे तीन घण्टा लामो ‘डिनर मिटिङ’ गरेका छन् । सरकार र गृहमन्त्रीकै कार्यशैलीप्रति असन्तुष्ट महामन्त्रीद्वयसँग गृहमन्त्री लेखकले लामो समय बिताए । त्यसको भोलिपल्टै शुक्रबार सभापति शेरबहादुर देउवासहित उपसभापति पूर्णबहादुर खड्कासँग बुढानीलकण्ठमा महामन्त्री थापा र शर्माले छलफल गरे । साढे दुई घण्टा चलेको उक्त बैठकमा मुख्यगरी क्रियाशील सदस्यको नवीकरण, भ्रातृ संस्थाको अधिवेशन, पार्टीमा देखिएको विवाद र पार्टीबाट निर्वाचित जनप्रतिनिधिको कार्यसम्पादनका विषयमा छलफल गरे । पार्टीको आन्तरिक रुपमा बलियो बनाउन लागिरहेका महामन्त्रीहरू सरकारलाई पनि खबरदारी गरिरहेका छन् ।