राजनीति

कठोर ओलीसँग विद्याको सिंघौरी,मदनले नै रोजेको घरमा कार्यालय, बानेश्वरमा नयाँ च्यासल, भंगालमा भिड (भिडियोसहित)


काठमाडौं— राजनीतिक पुनरागमनको यात्रामा पहिलो कदममै झट्का व्यहोरेकी विद्यादेवी भण्डारी अहिले सम्पर्क कार्यालयको तयारीमा छिन् । एमालेभित्र बहस र छलफल गर्नसमेत नपाइने भएपछि उनका विषयमा अब यही कार्यालयमा छलफल हुनेछ, जुन घरलाई २०४८ सालमा मदन भण्डारीले समेत काठमाडौँबाट चुनाव लड्दा सम्पर्क कार्यालयका रूपमा प्रयोग गरेका थिए । हुन त मदन भण्डारी हीरक जयन्ती मूल समारोह समितिको कार्यालयका लागि यस भवन भाडामा लिएको दाबी गरिएको छ, तर यो अब अर्को ‘च्यासल’ नै बन्ने अवस्था देखिन्छ । किनभने, भण्डारी समूहले पार्टी सदस्यता प्राप्तिको लक्ष्यलाई मदन भण्डारी फाउन्डेसनमा टेकेर ‘मदन भण्डारी र जबज’का गतिविधिहरूलाई तीव्रता दिने योजना बनाएको छ, जसको केन्द्र यही घर हुनेछ । यति मात्र होइन, अहिले सदस्यताबाट अलग राख्ने निर्णय भए पनि समर्थक संख्या बढ्दै गएको अवस्थामा एमाले पार्टी यही निर्णयमा अडिग रहन्छ भन्न सकिँदैन । फलतः पार्टीमा फर्कन प्राविधिक उपायबाट रोकिए पनि राजनीतिमा फर्कन कसैले रोक्न नसक्ने अवस्थाको फाइदा उठाउने खेलमा विद्या छिन् । यति मात्र नभई उनी निकट नेताहरू विधान महाधिवेशनमै बेग्लै दस्तावेज प्रस्तुत गर्ने तयारी गरिरहेका छन् । यसले भण्डारी पहिलो चोटिमै ‘नकआउट’ नभएको पुष्टि गर्दा ओली पक्ष भने भंगालस्थित भण्डारी निवास जानेहरूलाई धम्काइरहेको एमालेका तल्लो तहका नेताहरू बताउँछन् ।