काठमाडौं— भारतको उत्तराखण्डमा अचानक आएको बाढीपछि धादिङका चार जना नेपाली पनि सम्पर्कविहीन भएका छन् ।
उत्तराखण्डमा मजदुरीका लागि गएका धादिङको ज्वालामुखी गाउँपालिकाका चार जना नेपाली पनि सम्पर्कविहीन भएका छन् । उनीहरुको खोजीका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमार्फत् भारतीय दूतावासलाई अनुरोध गरेको छ ।
धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार ज्वालामुखी गाउँपालिका वडा नम्बर २ काफलपानी ठेगाना भएका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ सम्पर्कविहीन भएका हुन् । कामका लागि उत्तराखण्ड गएका उनीहरु सम्पर्कविहीन भएको परिवारका सदस्यहरुबाट जानकारी पाएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
साउन २० गते भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ । उत्तराखण्डको बाढीमा जाजरकोटका १३, बर्दियाका ४ र जुम्लाका एक जना सम्पर्कविहीन भएका छन् । यससँगै सम्पर्कविहीन हुने नेपालीको संख्या २२ पुगेको छ ।


प्रतिक्रिया